ad

Showing posts with label बैशाख पुर्णिमा (खेकु मांङी थेँब त्हेँ). Show all posts
Showing posts with label बैशाख पुर्णिमा (खेकु मांङी थेँब त्हेँ). Show all posts

Thursday, May 7, 2020

बैशाख पुर्णिमा (खेकु मांङी थेँब त्हेँ)

बैशाख पुर्णिमा (खेकु मांङी थेँब त्हेँ)को हार्दिक मंगलमय शुभ कामना ।

बैशाख पूर्णिमा
एक सन्दर्भ तमु जाति नेपालको आदिवासी जनजाती भूमिपत्र मध्येको एक जाति हो । तमु जातिको आफ्नो मौलिक पहिचान छ, धर्म–सँस्कार छ, सँस्कृति र परम्परा छ, भाषा र भेषभुषा छ, ऐतिहासिक पृष्ठभूमि छ । तमु जातिको यीनै पहिचानसँग जोडिएर आउने संस्कार र सँस्कृतिसँग सम्बन्धीत एउटा सन्दर्भ हो बैशाख पूर्णिमा । बर्षमा बाह्रवटा पूर्णिमा हुन्छन् जस अनुसार हरेक महिनामा एउटा पूर्णिमा पर्दछ र विक्रम सम्बत अनुसार बैशाख महिनामा पर्ने पूर्णिमा भएकोले यो पूर्णिमालाई बैशाख पूर्णिमा भनिएको हो । तमु जातिसँग सम्बन्धित अर्थात तमु जातिको सँस्कृतिको कुरा गर्ने हो भने बैशाख पूर्णिमाको दिन तमु जातिहरुको महत्वपूर्ण दिन हो । यो दिन पर्व कै रुपमा मानिने दिन हो ।तमु जातिको परम्परागत मान्यता र मौलिक सँस्कृति बमोजिम बैशाख पूर्णिमा आफ्नो पितृहरुलाई पूजा गर्ने, सम्झने, प्रार्थना गर्ने, सम्मान गर्ने र मान दिने दिन हो । यस दिनमा तमु जातिले बिहानैदेखि नै आफ्नो बायो थान र घरको फैलु च्होँमा सरसफाई र लिपपोत गरी मृतक आफन्त परिवारको नाममा कुखुराको भाले या बाख्राको पाठो बली चढाएर बायो पूजा, फैलु पूजा अर्थात पितृ पूजा गर्दछ । त्यसैले बैशाख महिनामा पर्ने यो पूर्णिमा तमु जातिको लागि सबैभन्दा महत्वपूर्ण पूर्णिमा हो । विशेष गरेर तमु जातिले आफ्नो पितृहरुलाई पूर्णिमाको तिथिमा पूज्ने गर्दछ । अझ विशेष गरि बैशाख महिनामा पर्ने पूर्णिमाको दिनमा पूजा गर्नु एउटा घटना पनि सम्बन्धित छ ।शिकारी युगको कुरा हो, तमु जातिहरु बसाँई सर्दै र शिकार खेल्दै आउने क्रममा छ्याम्ट्हो नासा(गाउँ) मा शिकार खेल्न जाने क्रममा पलाँहुरी क्ह्याला पूल तर्ने बेलामा पूल भाँचिएर म्हम चचक्युमा डुबेर मृत्यु भएको घटना तमु खेगीले बाचन गर्ने प्येमा छ । पलाँहुरी क्ह्याला मृत्यु भएको त्यो दिन बैशाख पूर्णिमाको दिन थियो । त्यसैले तमु जातिले बैशाख पूर्णिमाको दिनमा कुखुराको भाले वा बाख्राको पाठो बली चढाएर रक्ततर्पन दिएर बायो पूजा, फैलु पूजा तथा पितृ पूजा गरेर दिवांगत पितृहरुको सम्झना गर्ने, मान सम्मान गर्ने, पूजा गर्ने, प्रार्थना गर्ने गर्दछ भने कतिपय गाउँ ठाउँमा आफ्नो परिवारको दाजुभाई चेलीवेटीहरु सबै मुल घरमा जम्मा भएर कुखुरा र पाठो बली चढाएर धुमधामसँग बायो पूजा गर्ने गर्दछ । बायो पूजा, फैल पूजा अर्थात पितृ पूजा गरिएन भने अशुभ हुने, पिर्ने, दुःख बिमार हुने र हानी नोक्शानी हुने मान्यता पनि छ । त्यसैले तमु जातिहरुले बैशाख पर्णिमाको दिनमा पितृको सम्झना गरी भोगचलन दिएर पूजा–आरधना गर्नु नितान्त आवश्यक छ । विभिन्न समुदायले बिक्रम सम्बत अनुसार बैशाख पर्णिमाको दिनमा पर्ने पूर्णिमालाई आ–आफ्नो मान्यता बमोजिम जे जसरी मान्यता दिएर मानेको भएता पनि तमु जातिले आफ्नो मौलिक परम्परा अनुसार पितृ तथा दिवांगत आत्माहरुको नाममा बायो पूजा, फैलु पूजा अर्थात पितृ पूजा गरेर बैशाख पूर्णिमा मनाउनु अर्थपूर्ण हुनेछ जसले तमु जातिको परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण, सम्बर्धन गर्न र गराउन टेवा दिनेछ ।

होम ल्हो तमु ( गुरुङ )

जय प्रकृतिक बादी।