ad

तमु एकता दिवस - माघ ६ गते

माघ ६ गते तमु एकता दिवस मनाऔं
केजु तमु, तनहुँ

तमुहरुलाई विभाजन गरी सत्ता हत्याउने क्रममा हिन्दू ब्राम्हणवादीहरुले चालेको चालबाजीलाई हाम्रा पुर्वजहरुले राम्ररी बुझ्न सकेनन् र उनीहरुको चालबाजीमा फसी आपसी वैमनश्यता बढाई एकआपसमा नै झगडा गरी गुरुङ राज्यहरु विस्थापित भएको कुरा इतिहासबाट प्रष्ट हुन्छ । पर्वतको भुरुङदीखोलादेखि गोर्खाको आँखुखोलासम्म फैलिएको तमु ह्युल १६ औं शताब्दीमा ठकुराई राज्यहरुले दखल गरेको कुरा तमु प्ये ल्हु संघले फरवरी ६-८ २००४ मा आयोजना गरेको खेगी भेलाको अवसरमा विद्वान स्व. डा. हर्क गुरुङले आफ्नो उद्घाटन मन्तव्यमा उल्लेख गर्नुभएको थियो । त्यसैगरी स्व. डा. गुरुङले फैलु क्योर्लोमा सामरी क्ले कास्कीको हत्या पछि तमु एकताको लागि ६० प्रतिनिधिहरुको छोंज असफल भएको कुरा उल्लेख गर्नुभएको छ ।
तमुको इतिहास केलाउने हो भने वर्तमान कास्की जिल्लामा पर्ने सोताँ मादीखोलामा पर्छ तीनतर्फबाट आएका ६० प्रतिनिधिहरुको राय बाझिएकोले त्यहीअनुसार त्यस ठाउँको नाम रहन गएको स्पष्टै छ । किनकि तमुहरु क्होला सोंथरसम्म आउँदा विभाजित थिएन भनेर यसबाट प्रमाणित हुन्छ । जब क्होला सोंथर छाडेर तल आयो तब गुरुङहरु अन्य जातजातिको सम्पर्कमा पुग्यो र उनीहरुको चालबाजीसँगै आफ्नो भाषा धर्म र संस्कृतिलाई पनि बाहिरी कुराहरुले प्रभावित गर्दै लग्यो । कुनै पनि जातिको भाषा धर्म संस्कृति र परम्परालाई राज्यको मान्यता र बाहिरी प्रभावले असर पार्दछ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यही कुरा तमु जातिमा पनि लागू भयो । हिन्दूहरुको चालबाजी र उनीहरुको सम्पर्कमा परेर तीनतर्फबाट आएका तमुहरुको राय बाझियो र त्यस ठाउँलाई सोताँ भनियो भने तीन पक्ष छुट्टिएको नजिकको ठाउँलाई सोम्लाँ भनियो । यसबाट नै तमु-तमुबीच फुट र वैमनश्यताको शुरुवात भयो ।
तमु राज्यलाई विस्थापित गर्दै लगेपछि तमु प्ये-छ्या-म्या माथि पनि अतिक्रमण गर्दै लग्यो । त्यतिले पनि नपुगेर ई. १५३७ मा भोजराज पण्डितले मनगढन्ते तरिकाले गुरुङको वंशावली लेख्यो । तमुहरुलाई ठूलो र सानो जातमा विभाजन गरी लेखेको मनगढन्ते कुरालाई मलजल गर्न बेलाबेलामा यस्तै ठूलो र सानोको भावना राखी लेखेका पुस्तकहरु निस्कियो भने आफ्नो स्वार्थ पूरा गर्न केही तमुहरु पनि बुझपचाएर लागि परे । केही तमुहरुले नै तमु-तमुबीच फाटो ल्याउने कुरालाई मलजल गरे र अझै पनि केही तमुहरुमा ठूलो-सानोको भावना कायमै रहेको छ । राज्यबाट नै मलजल गरिएको यस्ता खालका कुराहरुले तमुहरुलाई एक हुन दिएन बेला-बेलामा अदालत धाउने परिस्थिति सिर्जना भयो । १९२४ सालको लालमोहर १९७८ को भारदारी फैसला १८८५ को तामापत्र र सन् २००६ को पुनरावेदन अदालत ललितपुरमा भएको मिलापत्र यसैका उदाहरणहरु हुन् ।
२०४७ सालको परिवर्तन पछि देशमा खुलेका तमु संघसंस्थाहरुको उद्देश्य तथा लक्ष्यलाई हेर्ने हो भने प्रमुखमा तमु एकताको कुरा आउँछ । तर तमुहरु कहिलेदेखि विभाजित भए किन भयो यसको खोजविन भने गरेको पाइँदैन । यसका अलवा बेला बेलामा भएको तमु-तमुबीचको वादविवादले अदालतसम्म पुगेका र त्यसबाट गरिएका फैसलाहरुलाई ख्यालै नगरी तमुबाटै एकतामा भाँजो हाल्ने गरी भएका कि्रयाकलापहरुले तमुहरुमा चेतना कहिले आउने हो भनी अनुमान लगाउनु पर्ने बनाइरहेको छ । वर्तमान युगमा पनि तमुहरुका संघसंस्थाले यसतर्फ ध्यान दिएको देखिंदैन । यदि तमु संघसंस्थाहरु साँच्चै तमु एकता चाहने हो भने गत वर्ष पुनरावेदन अदालतमा भएको मिलापत्रलाई ध्यानमा राखी कार्य गर्नुपर्ने हो । एक वर्ष बितिसक्दा पनि यसबारे कुनै पनि संघसंस्था गम्भीर नहुनु अझै पनि तमु एकताको लागि प्रयास नगर्नु हो । विद्यालय महाविद्यालय र विश्वविद्यालयहरुमा पढाइने पाठ्यपुस्तकहरुमा गुरुङहरुको आत्मसम्मानमा चोट पुर्र्‍याउने र उनीहरुबीच विभाजन ल्याउने खालको चार जात र सोह्र जात भनी पढाउने गरेको छ । गतवर्ष भएको मिलापत्रको शर्तमा यसबारे गुरुङ संघसंस्था र बुद्धिजीवीहरुले पहल गर्ने थियो । त्यस मिलापत्रको शर्तमा मिलापत्रलाई नयाँ नजिरको रुपमा सबैले मान्ने थियो । यदि साँच्चै गुरुङ एकता भनी सधैं आफ्ना नाराहरु बनाउने संघसंस्थाहरु किन नयाँ नजिरको रुपमा मान्न तयार छैन किन माघ ६ गतेका दिनलाई एकता दिवसको रुपमा मान्न तयार छैन यो विचरणीय छ । अझै पनि आफूलाई पढेलेखेका र बुद्धिजीवी ठान्नेहरुले तमु-तमुबीच ठूलो र सानोको भावनालाई समाप्त पार्नेतर्फ ध्यान दिएको पाइँदैन । यसले कुरा देखाउँछ भने पुनरावेदनमा भएको सामाजिक मिलापत्रका शर्तहरुले अझै पनि समाजमा रहेका उच-निचको भावना समाप्त पारेका छैनन् र भोलि गएर अदालतबाट यस्ता नजिरहरु पुनः नआउलान् भनेर भन्न सकिन्न ।
तसर्थ यो पंक्तिकार देशविदेशमा रहेका सम्पूर्ण तमुहरुलाई यो आग्रह गर्दछ कि अब आउने २०६३ माघ ६ गते अर्थात् जनवरी २० तारिका दिन तमु एकता दिवसको रुपमा सबैले मनाऔं र आउने वर्षहरुमा पनि माघ ६ गतेलाई तमु एकता दिवसको रुपमा सबैलाई मान्न लगाई तमु-तमुबीचको एकता पहल गरौं । सोताँमा भएको तीन कुराहरु खोजी गरौं र मिलन विन्दु खोजौं । गत वर्ष भएको पुनरावेदन अदालतको मिलापत्र नै अन्तिम नजिरको रुपमा लिऔं र अर्को नजिर जन्माउनतर्फ नलागौं । तमु एकताको लागि सबैले पहल गरौं । तब मात्र तमु एकता सम्भव छ अन्यथा तमु एकता नारामा मात्र सीमित हुने निश्चित छ ।

No comments:

Post a Comment