ad

स्याइ –स्याइः तमू जातीय एक सांस्कृतिक परम्परा

– रत्न बहादुर तमू

आरम्भ

हामी तमू जातिको संस्कृति धेरै धनी छ भन्न पाउदा ज्यादै गर्व लाग्छ । हाम्रा अमूल्य सम्पदा मध्ये ‘स्याइ–स्याइ’ एक हो । तमू मातृभाषामा ‘स्याइ–स्याइ लब’ भनिन्छ र सङ्क्षिप्तमा ‘स्याइ –स्याइ’ मात्र पनि भनिन्छ । ‘स्याइ –स्याइ लब’ को अर्थ नेपालीमा ‘स्याइ –स्याइ गर्नु’ भन्ने हुन्छ भने ‘स्याइ –स्याइ’को अर्थ भेट्टायो–भेट्टायो या फेला–पारियो,फेला–पारियो भन्ने हुन्छ । के भेट्टायो या के फेला पारियो भन्ने प्रश्नको उत्तर हुन्छ –कसैको हराएको वा गएको सातो ।
स्याइ –स्याइ गर्दा प्रयोग गरिने पहेलो डोरोलाई प्हैरु, रुपा र रिपा भनिन्छ । यो पहेंलो डोरो हिन्दु ब्राह्मणले जनैपूर्णिमामा लगाउने रक्षाबन्धन जस्तै हो तमू समाजमा । तर तमूहरुले यस्लाई हातमा होइन घाँटीमा लगाउछन् ।
यसको बनावटको कुरा गर्नुपर्दा यो सूतीको काँचो धागोबाट पुरुषको निमित्त नौ सरा नौ गाँठा र स्त्रीको निमित्त सात सरा, सात गाँठा भएको घाँटीमा लगाउन मिल्ने लम्बाई भएको डोरो बनाई त्यसलाई बेसार र खरानीमा पानी हालेर मुछी रङ्ग्याइन्छ । यसरी रुपा तयार गरिन्छ ।
रुपामा प्रयोग गरिने धागोका सरा र गाँठा अर्थपूर्ण छन् । परुषका निमित्त बनाइने रुपाका नौ सरा र नौ गाँठाले तमूहरुको ‘खेकु’ (नौ पितृ) र स्त्रीका निमित्त बनाइने रुपाका सात सरा र सात गाँठाले ‘माङि’(सात मातृ ) लाई जनाउने प्रतीक हुन भन्ने तमू समाजमा मान्यता छ र त्यसालाई घाँटीमा लगाए शुभ हुन्छ भन्ने विश्वास पनि छ । अर्को मान्यता के पनि छ भने रुपाका नौ सरा , नौ गाँठाले तमू जातिको ‘न्हेजा’ पुर्खौली थलोमा भएका नौ पहाड र सात सरा , सात गाँठाले त्यहाँका सात ताललाई जनाउँछन् ।
प्ह्रैरु रुपा र रिपा शब्दको अर्थ खोज्दा भाषिक हिसाबले प्ह्रैरु र रुपा मलाई बढी सार्थक लाग्छ । किनभने प्है्ररुले ऊनको धागो र रुपाले सुती धागोलाई जनाउछ र प्है्ररुको चलन पहिले भएको देखिन्छ । यसले तमू जातिले भेडा पालन गरेको काललाई दर्शाउछ । रुपा चाहिँ सूती धागोबाट बनाइने हुदा त्यसले उनीहरु कृषि युगमा प्रवेश गरिसकेको कुरा दर्शाउछ ।
स्याइ –स्याइकै सन्दर्भमा हाम्रो तमू समाजमा प्रचलित एउटा कथा छ । त्यसलाई यसैमा जोड्नु सान्दर्भिक ठान्दछु । यो कथा हामी तमू जाति कृषि युगमा रुपान्तरण भएपछिको हो जो यस प्रकार छ ः
धेरैै वर्ष पहिले एउटा गाउँमा होंसाह«ों तमू र पुचुक्याहाला तमू नाम गरेका दुईजना खूब मिल्ने साथी थिए । तिनीहरुले वनको पाखोमा खोरिया खनेर साझेदारीमा उवाको खेती गरे । राम्ररी खनजोत गरेको हुदा उनीहरुको उवा खेती खूब सप्रियो । समय पुगेपछि उवाका लामा – लामा बाला झुल्न थाले । त्यो देखेर ती दुवै खुशीले मक्ख परे । बिस्तारै उवा पाक्ने बेला भयो । तर ठूल्ठूला बाला हराउदै गएको देखेर दुवै चिन्तित भए । त्यसपछि तिनीहरुले चोर पत्ता लगाउन चियो बस्ने निधो गरे । एकरात ति दुई आफ्नो खोरियामा गए । होंसाह्रों खोरियाको माथिल्लो पट्टि एउटा रुखमा चढेर बस्यो । अनि पुचुकयाहाल खोरियाको तल्लोपट्टि एउटा रुखमा चढेर चेवा ग¥यो । लगभग मध्यराततिर तिनीहरुको त्यो खोरियामा एउटी आइमाई देखा परी । जुनेली रात भएकोले तिनीहरुले राम्रैसंग त्यो आइमाईलाई देखे । दुवै आ–आफ्नो ठाउँबाट दौडदै त्यो भएकी ठाउँमा पुगे । उसलाई होंसाह्रोंले भन्यो “तिमी को हौ ? हाम्रो उवा चोर्ने त तिमी पो रहिछ्यौ ? हैन ?” अनि पुचुक्याहालाले थप्यो – “अर्काले पसिना बगाएर गरेको बाली खाने तँ चोर्नी होस । अब तँलाई हामी छाड्दैनौ ।” त्यो आईमाई ज्यादै सुन्दरी थिई । उसले अति नम्र भएर भनी –“मेरो खेती गर्ने एक टुक्रा पनि जमिन छैन । खाना नपाएर म आफँै मर्ने भएर तपार्इँहरुको बालि चोरेकी हुँ । म बेसहारा छु । म के गरुँ ? उसका बोली र सौन्दर्यमा ती दुवै मोहित भए । उनीहरुले थरपनि त्योसंग बिहे गर्ने प्रस्ताव राखे । त्यो आइमाईले मुस्कुराउदै भनी–“हुन्छ । तर म कोसंग बिहे गर्ने दुईजनामा ?” पुचुक्याहालाको विवाह भैसकेको हुदा हत्तपत्त होंसाह्राेंले भन्यो – “तिमीसंग बिहे गर्ने त म हुँ । उ त घरबारे हो । ” त्यसपछि होंसाह्रोंले उसलाई लिएर आफ्नो घर लग्यो ।
होंसाह्रोंको वैवाहिक जीवन केही समय राम्रै भयो । तर एक वर्षपछि उसको स्वास्थ्य बिग्रिदै गयो । आजभन्दा भोलि उ दुब्लाउदै–दुब्लाउदै गयो र हाडछाला मात्र बाँकी रह्यो । उ प्रायजसो दुखबिमार मात्र भैरह्यो । आफू त्यसरी बिरामी भएपछि उसले आफ्नो साथी पुचुक्याहालालाई सम्झ्यो र एकदिन उसलाई भेट्रन गयो । उसको त्यो बिग्रिएको स्वास्थ्य देखेर पुचुक्याहाला झस्कियो र दुःखी भयो । ती दुईले धेरै बेर लामो बात मारेर बसे । होंसाह्रोंले भन्यो –“मलाई खान रुच्दैन । खानेकुराको स्वाद पनि पाउदिन । चाहे जस्तो खाना खान नपाउदा म यसरी दुब्लाएको हुँ । म त मर्छु क्यारे पुचुक्याहाला ?” “धन्दा नमान । तिमी ज्यादै सुकेका रहेछौ । जान्ने पच्यू गुरु कहाँ जाऔं र जोखना हेर्न लगाऔं” पुचुक्याहालाले भन्यो । त्यसपछि तिदुई त्यस बेलाका खूब जान्ने क््रहोलु नाम गरेका पच्यु गुरुकहाँ गएर जोखना हेराउँदा उसले भन्यो “होंसाह्रोंकी बूढी, मान्छे होइन । त्यो प्रेत्नी हो । त्यसको नाम सब्र्यू हो । त्यसले होंसाह्रोंलाई दिइने खानाको सम्पूर्ण स्वाद पहिल्यै आफूले चुसेर खान्छे र मात्र उसलाई (होंसाह्रोंलाई) दिन्छे । त्यसैले होंसाह्रों दुब्लाएको हो । बिस्तारै–बिस्तारै त्यो प्रेत्नीले होंसाह्रोंलाई पनि आफू जस्तै प्रेत बनाउने योजना गरेकी छ त्यसैले उस्लाई त्यो प्रेत्नीबाट छिटोभन्दा छिटो छुटाउनु पर्छ ।”
क््रहोलु पच्युृ गरुको कुरा सुनेपछि ति दुईले सल्लाह गरेर त्यो –आईमाईलाई एउटा अग्लो पहरोको टुप्पोमा लगे । पुचुक्याहाला तिदुईलाई त्यहीं छाडेर फर्कियो । होंसाह्रोंले त्यो आफ्नी बूढीको कपालमा जुम्रा हेर्ने जस्तो बहाना गरेर भीरबाट फालिदियो । तर ऊ भीरको बीचमा अड्किगयो र उसले आफ्नो सक्कली प्रेतको रुप देखाई । अनि ऊ होंसाह्रोंको सातो लिएर पातालमा लुकिगई । त्यसपछि होंसाह्रों बेसरी बिरामी भयो ।
पुचुक्याहालाले आफ्नो मित्रको त्यो दयनीय अवस्था देखेर ओखतीमूलो गर्न जताततै चहा¥यो । तर उसलाई सन्चो बनाउन नसक्दा अन्त्यमा क््रहोलु पच्यु गुरुथिम गएर हेरकोर ग¥यो । अनि जसरी हुन्छ आफ्नो मित्रलाई निको बनाइदिनोस् भनेर उसले विन्ती ग¥यो । उसको कुरा क््रहोलुले सुनेपछि क््रहोलुले आवश्यक सर्जाम, चोखो भात, मासु, माछा, दूध ,जाँड, रक्सी, शुद्ध जल नौसरा, नौ गाँठा भएको रुपा (रक्षाबन्धन) तयार पार भन्यो । पुचुक्याहालले उसले भने अनुसारका सर्जाम जो¥यो । अनि क्रहोलुपच्युले प्ल्हखू याने सातो बोलाउने विधि गरी त्यो प्रेत्नी सब्र्युबाट होंसाह्रोंको सातो छुटाएर ल्याई उसको अनुहारमा तीतेपातीको मुन्टोले सुनपानी छर्केर रुपा (रक्षाबन्धन ) लगाई स्याइ–स्याइ गर्दै आशीक दियो । पुचुक्याहालाले पनि उसको शिरमा हात राखेर स्याइ–स्याइ गर्दै शुभेच्छा प्रकट ग¥यो । त्यसपछि साँच्ची नै होंसाह्रों सञ्चो भयो र आनन्दले दिन बिताउन थाल्यो ।

प्रयोग :

स्याइ–स्याइ लब (स्याइ–स्याइ गर्नु) याने स्याइ–स्याइ को प्रयोग कसैको सातो बोलाउने कार्यमा हुन्छ । प्ल्हखू (सातो बोलाउने) विधि खेगीहरुले धारा, कुवा चिहान आदि ठाउँबाट गरेर मधौरुलाई रुपा लगाई स्याइ–स्याइ गरेरे आशीक दिन्छन । त्यसै समयमा परिवारजन, अन्य इष्टमित्रहरुले पनि त्यसरी नै स्याइ–स्याइ गर्दछन् । साना केटाकेटीको ‘प्ल्हखू’ तिनका आमाले गर्छिन् । तिनीले धारा, पधेंरा, कुवा आदि ठाउँमा गई आँसीले खोर्सेर सातो बोलाउँदै आफ्नो बिरामी छोरा वा छोरीलाई रुपा लगाएर स्याइ–स्याइ गर्ने (सातो बोलाउने) चलन पनि छ ।
सातो बोलाउने बाहेक अन्य शुभ अशुभ कार्यमा जस्तै ल्होछारमा, कोही परदेशबाट आउदा, पदोन्नति हुदा, कुनै साहसिक कार्यमा सफल हुदा, मुद्दा मामिलामा जित हुदा, कसैको घरमा मरभाव हुदा सम्बन्धित व्यक्तिलाई आफन्तजनले रुपा लगाई स्याइ–स्याइ गर्छन् ।

ऐतिहासिक महत्त्व

स्याइ–स्याइमा प्रयोग गरिने रुपाले हामी तमू जातिको ऐतिहासिक कुरा दर्शाउछ । रुपाका सरा र गाँठाले ‘खेकु’ (नौ पुर्खा) र माङि (सात मातृ) लाई मात्र नदर्शाई तमूको प्राचीन थलोमा भएका नौ पहाड र सात ताललाई पनि जनाउछन् । यो ठाँउ अझै पनि मगोलियामा छ र त्यहींबाट सुविधाको खोजीमा तमू जाति दक्षिणतिर लागेर नेपाल प्रवेश गरेको देखिन्छ ।

सांस्कृतिक महत्त्व

हामी तमू जातिको यो विशिष्ट परम्परा भएकोले यसको सांस्कृतिक महत्त्व छ । हाम्रो दैनिक जीवनसंग यो अभिन्नरुफले गाँसिएर आएको छ । यो तमू जातिको पहिचानका पाटाहरुमध्ये एक हो । यसमा प्रयोग गरिने प्हैरुले हाम्रो सस्ंकृतिकको पशुपालन युगको परिचय दिन्छ र तमू समाजमा त्यसै समयमा हाम्रो सस्ंकृति त्यति राम्ररी विकसित भएको देखिन्छ । स्याइ–स्याइमा हाम्रा खेगहिक संलग्न हुन्छन् भन्ने कुरा उल्लेखित कथाबाट नै प्रष्ट हुन्छन् ।

सामाजिक महत्त्व

सामाजिक महत्वको दृष्टिकोणले हेर्दा स्याइ–स्याइ ज्यादै महत्त्वपूर्ण देखिन्छ । कोही दु ःख बिमार हुदा आफन्तजनहरु, हितैषीहरु स्याइ–स्याइ गर्न आउने चलनले एकआपसमा सम्बन्ध प्रगाढ भैरहन्छ । शुभ कार्यमा पनि भेला हुने र स्याइ–स्याइको माध्यमबाट सुख बाँडने रीति बस्छ । स्याइ–स्याइ एक प्रकारले हाम्रो तमू समाजमा सुख र दु ः ख दुवै घडीमा सहभागी गराउने एउटा महत्वपूर्ण कडी हो । मानिसको जीवन भनेको सुख र दुःखको मिश्रण हो र जो कोहीलाई पनि यस्ता अवस्था आउन सक्छन् । त्यस्ता शुभ अशुभ कार्यमा उपस्थित हुनु एक आपस्तमा अ‍ैंचोपैंचो जस्तै हुन्छ । समाजमा रहनुको अर्थ नै यही हुन्छ ।

आर्थिक महत्त्व

हम्रो जस्तो वर्ग विभाजित समाजमा आर्थिक दृष्टिले निम्न वर्गका व्यक्तिलाई पर्न आउने खास गरी अशुभ कार्यमा स्याइ–स्याइले ठूलो आर्थिक टेवा दिन्छ । हुन त स्याइ–स्याइ गर्दा छोरामान्छेलाई फेटा, भाङ्रग्रो र आइमाईलाई मुजेत्रो, लुंगी साडी दिइन्छतापनि पैसा पनि दिइन्छ । यसरी दिइने वस्तु वा पैसाले निम्न स्तरका व्यक्तिलाई ठूलो राहत पुग्दछ ।

मनोवैज्ञानिक महत्त्व

कुनै व्यक्तिको सातो जानु र खेगीले हराएको सातो बोलाएर ल्याउनु भनेको कुरा यसो हेर्दा अवैज्ञानिक र अन्धविश्वास जस्तो देखिन्छ । तर हाम्रो तमू समाजमा स्याइ–स्याइको सम्बन्ध मनोविज्ञानसंग पनि सम्बन्धित रहेको पाइन्छ । दुःखमा परेको व्यक्ति या बिरामी मान्छेको मानसिक स्थिति ज्यादै नाजुक हुन्छ । त्यस बेला खेगीले आफ्नो तन्त्रमन्त्र विधि गरेर सातो बोलाई रुपा लगाएर स्याइ–स्याइ गर्दा त्यो बिरामीको मनमा सकरात्मक प्रभाव पर्दछ । त्यसरी नै आफन्तजन, बन्धुबान्धव, इष्टमित्रवर्गले स्याइ–स्याइ गरेर शुभेच्छा प्रकट गर्दा उसको मनोवैज्ञानिक अवस्था उच्च हुन जान्छ । यसरी उसको मनोबल बढेर गएपछि उ राम्ररी निको पनि हुन्छ ।

विकृति र लोपोन्मुख

विविध पक्षमा स्याइ–स्याइको यति बिध्न महत्व हुदा हुदै पनि यसमा विकृति आउन थालेको छ । वास्तवमा स्याइ–स्याइ परम्परामा विकृति ल्याउनमा हामी आफैँ दोषी छौं । किनभने अचेल यसमा पैसा र सुन दिने होदबाजी नै चल्न थालेको छ । हुने वर्गले त स्याइ–स्याइ गर्न सक्लान । नहुने वर्गलाई त यो ठूलो बोझ हुन थालेको छ । किनभने यो परम्परा भनेको एकोहोरो होइन र दोहोरो चल्नु पर्ने कुरो हो ।
स्याइ–स्याइका यति सुन्दर, व्यवहारिक पक्ष हुदा हुदै पनि यो लोपोन्मुख हुदै गएको छ । यसका विभिन्न कारणहरु छन् :
(१) अन्तर्जातीय विवाह – यो एउटा कारण बन्न गएको छ । किनकि तमूस्योले पो आफ्नो जातिय परम्परा जान्दछे । अन्य जातिकोले यो स्याइ–स्याइ गर्ने भनेको के हो भन्ने जान्नै सक्दिन ।
(२) बसाइँ सराइ – सुख सुविधा र अवसरको खाजिमा तमूहरु आफनो पुरानो न्हेजा (थातथलो) छाडेर शहरबजारमा बसाइँ सरेका छन् । कति तमूहरु सदाका लागि विदेशिएका पनि छन् । त्यो अवस्थामा स्याइ–स्याइ हराउले तर्फ उन्मुख भएको छ ।
(३) तमू संघसंस्थाको कम चासो – बसाइँ सरेर बसेका तमूहरुले आ–आफनो भेकीय सघंसंस्था खोलेका छन् । ती सबै संघसंस्थाको नारा प्राय एउटै जस्तो देखिन्छ जस्र्तै भाषा, धर्म सस्कृतिको संरक्षण संवद्धन गर्ने । तर ती सबै नाराको रुपमा मात्र सिमित छन् ।

अन्त्य

मेरो आलेख आफ्नो क्षेत्रको परिवेशमा लेखिएको हुदा कति ठाँउका तमू समाजमा प्रचलित स्याइ–स्याइसंग मेल नखान पनि सक्छ । तर अन्तरवस्तु एउटै हुन सक्छ । हामीले आफ्ना सामाजिक रीतिरिवाज परम्परालाई जोगाउनु पर्छ । यसले हाम्रो समाजलाई जीवन्त राख्दछ । कति तमूहरुलाई स्याइ–स्याइ जस्ता सामाजिक परम्परा थाहै छैन । जे जस्ता कारणले गर्दा आफू यस्ता तमू परम्परा बारे अनभिज्ञ हुन गएको भएपनि त्यसलाई बुझेर अवलम्बन गर्दा हाम्रो परम्पराको संरक्षण हुन्छ । स्याइ–स्याइ परम्परामा दिइने नगद, सुन र जिन्सी जस्ता कुरामा सीमा निर्धाण गरेर यस्तो अनावश्यक होडबाजीलाई प्रतिबन्ध लगाउनु पर्ने देखिन्छ । तमू संघसंस्था यस्ता विषयमा बढी उत्तरदायी हुनुपर्छ । हाम्रा परम्परा संस्कृतिमा आउन सक्ने विकृतिलाई समयमै हटाएर तिनका जगेर्ना गरी हाम्रा भावी पुस्तालाई पुर्खाको नासो जस्ताको तस्तै बुझाउन सक्नुपर्छ । नत्रभने भावी तमू समाज ‘मणि हराएको नाग’ जस्तो हुनेछ । यस्तो नहोस् ।
(Source: Tamuhyula.com)

No comments:

Post a Comment