ad

Saturday, December 24, 2011

अमृत, गीत र स्कुल............

    कान्तिपुर संवाददाता
    काठमाडौ, पुस ७ -
    गान्धी चस्मा, बाक्लो जुँगा र झ्याप्प कपाल पालेका गायक अमृत गुरुङको अर्को परिचय गम्भीरता हो । दुई दिनअघि कालिकास्थानस्थित नेपालयको तेस्रो तल्लामा यिनी झन् भावुक र गम्भीर देखिए । उनी चार दशकअघि बोरा लिएर पढ्न गएको पोखरा पुम्दी भुम्दीस्थित आफ्नै गाउँको सानो स्कुल सम्भिmरहेका थिए, जहाँ चिसो भुइँमा बोरा ओछ्याएर उनले बार्‍हखरी सिकेका थिए ।

    स्कुल छाडेपछि उनी कलेज पढ्न सहर आए । दीपक राणा र भीम पुनलाई साथ लिएर 'नेपथ्य' ब्यान्ड बनाए, गायनमा चर्चा कमाउँदै गए । उनले छाडेर आएको पुम्दी भुम्दीस्थित भगवती प्राविमा पनि केही बदलाव आयो- अलिक पक्की भवन बन्यो, छानो टिनमा बदलियो । 'तर खासमा स्कुलको समग्र हालतचाहिँ उस्तै छ,' उनले फेरि स्कुल सम्झे, 'मुलुकमा ठुल्ठूला परिवर्तन भए, शिक्षामा सुधारमा आएन । हाम्रो राजनीतिले स्कुललाई प्रयोगशाला बनायो तर भविष्यको कणर्ाधार हुर्किने थलो जस्ताको तस्तै रह्यो ।'

    बुधबारको भेटमा उनी स्कुललाई किन बढी नै मिस गरिरहेका थिए भने चार दशकपछि उनी आफ्नै स्कुलका लागि कन्सर्ट गर्दै छन् । मुलुकमा द्वन्द्वको आगो सल्किरहँदा, स्कुलहरूमा बम, बारुद र गोलीको लुकामारी चलिरहँदा कहिले 'शान्तिका लागि शिक्षा' त कहिले 'सुन्दर शान्त नेपाल' भन्दै मुलुकभर कन्सर्ट गर्दै स्कुलहरूलाई सघाउँदै हिँडेका उनले यस पटक आफैं पढेको स्कुललाई पनि सहयोगको सूचीमा राखेका छन् । नेपथ्य टोलीसहित यही पुस तेस्रो सातादेखि उनी हेटौंडा, इलाम, सिन्धुलीमाडी, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, स्याङ्जा, बागलुङ लगायतका एघार थलोमा कन्सर्टका लागि पुग्दै छन् । यसअघि 'शान्तिका लागि शिक्षा' थिममै चारवटा देशव्यापी कन्सर्ट गरेको नेपथ्यले ६ वर्षपछि फेरि यही थिमलाई अघि बढाएको हो ।

    फेरि पुरानै थिममा ?

    'अलिकति पलाउन खोजेको पालुवामा आगो लाग्न थालेपछि,' अमृत फेरि गम्भीर भए, 'चुप लागेर बस्न मनले मान्दै मानेन ।' अमृतले विम्बमा बोलेको कुरा मुलुकको राजनीतिसँग जोडिएको थियो । हिजो मुलुकमा प्रत्यक्ष र हिंसात्मक मुठभेड थियो, आज त्यसको चरित्र फेरिएर संसद्मा आइपुगेको छ । हिजो गाउँबस्ती र शैक्षिक संस्थाहरू आक्रान्त थिए, आज राजनीतिक पार्टीहरूले सिर्जना गरेको अान्तरिक र बाह्य द्वन्द्वको चंगुलमा मुलुक कैद भएको छ र ती आक्रान्त बस्तीमा पुग्नुपर्ने राहत र विकास निर्माणका योजनाहरू काठमाडौंमै अल्भिmएका छन् ।

    'मुलुक त फेरि पनि ठप्प छ नि भाइ । राजनीतिक परिर्वतन त भयो, तर खै त सामाजिक-आर्थिक परिवर्तन ?' अघिल्तिर झरेको कपाललाई कानको छेवैबाट पछिल्तिर मिलाएपछि अमृतले लामो सास ताने, 'हुनुपर्ने काम सरासर नभएपछि, तल-तल पुग्नुपर्ने योजनाहरू राजनीतिक स्वार्थका कारण अवरुद्ध भएपछि... ।' यसभन्दा पर्तिर उनी बोल्न सकेनन् । उनको अनुहार फेरि गम्भीर बन्यो । 'कलाकारले राजनीति गर्ने हैन, र मलाई राजनीतिबारे केही थाहा छैन पनि,' एकैछिन रोकिएपछि उनले भने, 'यति हो कि मुलुकको भविष्य बोकेको भावी पुस्तालाई ढुक्कले पढ्न देऊ । त्यो उनीहरूको अधिकार हो र भौतिक- मानसिक कुनै प्रकारको अवरोध उनीहरूलाई दिनु हुन्न । राजनीति भनेको बालिग भएपछि उनीहरू आफंैले

    बुझ्छन् । यस पटक हामीले फेरि यही भन्न खोजेका हौं ।'

    सन् १९९० मा ब्यान्ड स्थापनापछि लोक रकको भिन्न पहिचानसहित उदाएको नेपथ्यले अहिलेसम्म जति काम गरेको छ, ती हरेक हिसाबले यस्तै सामाजिक र चेतनामूलक अभियानसँग नै जोडिएका छन् । 'छेक्यो छेक्यो देउराली डाँडा...' हुँदै 'जोमसोमे बजार....', 'रेशम...', 'भेडाको ऊनजस्तो...', 'सा कणर्ाली...', 'ऐना झ्याल...' जस्ता चर्चित सिर्जनाहरूसँगै नौवटा एल्बमसमेत बजारमा ल्याइसकेको नेपथ्यले कन्सर्टमार्फत नै दर्जनौं स्कुललाई आर्थिक सहयोग जुटाएको छ भने अपांगको सहयोगका लागि समेत अघि सरेको छ । सांगीतिक कर्मलाई सामाजिक अभियानतिर जोड्नुको तात्पर्य खोतल्न खोज्दा अमृत फेरि भावुक भए र नोस्टाल्जिक पनि ।

    'सायद हुर्केको परिवेश, भोगेको समय र ब्यहोरेको परिस्थितिले गर्दा होला,' अमृतले भने, 'म यस्तो समय र परिवेशमा हुर्कें, जसले मलाई गम्भीर र बढी सामाजिक विषयमा सोच्न बाध्य बनायो ।' लाहुरे जाने संस्कृतिले गाँजेको समाजमा उनी जन्मे-हुर्के । थुप्रै दौंतरी लाहुर पसे । तर उनी भने 'विदेशमा धन पाए पनि, धनको सट्टा मन पाए पनि, जन्मेको ठाउँ बिर्सन हुन्न रे...' गाउँदै हुर्के । सानैदेखि पेन्टिङ र साहित्यतिर ढल्किए ।

    हङकङ, अमेरिका, भारत, दक्षिण कोरिया, नेदरल्यान्ड्स, अस्ट्रेलिया, फिनल्यान्ड, इजरायल लगायत दर्जनौं मुलुकमा टोलीसहित कन्सर्ट यात्रा गरिसकेका अमृतले विकसित मुलुकका स्कुल, विद्यार्थी र उनीहरूको सुनिश्चित भविष्यलाई पनि नजिकबाट देखेका छन् । तर हाम्रो सन्दर्भमा कुरा गर्दा उनले आफंै पढेको भगवती प्राविको उदाहरण दिए । 'हामीले धेरै सपना देख्नु पनि छैन, हाम्रो परिस्थितिलाई हाम्रै सापेक्षतामा हेर्नुपर्छ, यति हो कि विकासको स्वाभाविक गति अवरुद्ध हुनु भएन,' उनी दार्शनिकझंै भन्दै थिए, 'युरोपमा रेल दौडिँदा हामी जाँतो चलाउँदै थियौं । त्यही भएर त आज हामी संगीतकर्मसँगै सामाजिक अभियानमा पनि जानुपरेको ।'

    अर्थात्, अमृतलाई ठूलो सपनाको खेती गर्नु छैन । शैक्षिक संस्थाहरूको अवस्था फेरिए मुलुकको भविष्य आफैं पनि सुन्दर बन्नेछ । मुलुक सप्रे नागरिकको जुनी पनि सपि्रन्छ । व्यक्तिगत रूपमा चाहिँ उनी नितान्त सामान्य मान्छे भएर बाँच्न चाहन्छन् ।

    हप्तामा चार दिन काठमाडौं र तीन दिन पोखरा बस्दै आएका उनले पुम्दी भुम्दीमै गोठ बनाएका छन्, गाई ११ वटा, भंैसी ५ वटा, बाख्रा ७ वटा र कुकुर ३ वटा पालेका छन् र भविष्य उनी यही गोठमा देखिरहेका छन् ।

    'काम गरेर बाँच्ने,' उनले भविष्यको योजना सुनाए, 'एउटा आममान्छेको जिन्दगी बाँच्न चाहन्छु ।' र, त्यो 'आममान्छे'को नाके डाँडीमा गान्धी चस्मा अडिएको छ ।




    प्रकाशित मिति: २०६८ पुस ८ १०:४५

    No comments:

    Post a Comment